वि.सं. २०१५ सालमा स्वर्गीय राजा महेन्द्रकाे पश्चिमाञ्चल क्षेत्रकाे भ्रमणको क्रममा स्वागतार्थ जम्मा भएका समाजसेवी, वुद्धिजिवी तथा अादिवासी दरै जातिहरूले पानी भरिएकाे तामाकाे ताउलोमा जालले छोपेर ल्यार्इएकाे जिवित माछालार्इ दर्शनार्थ राखिएको हुँदा माछालार्इ पानीको देवता सम्झी विद्यालयको नामाकरण जलदेवी रहन गएको हो । श्री जलदेवी नाम प्राथमिक विद्यालय खोल्ने सल्लाह पश्चात विद्यालय सञ्चालनका लागि यस क्षेत्रका समाजसेवी, सर्वसाधारण, शिक्षाप्रेमीहरूको संयुोक्त प्रयासमा मिति २०१६, पुस १६ गतेबाट विद्यालयको विधिवत रूपमा स्थापना भएको पार्इन्छ। विद्यालयबाट आवश्यक पर्ने जग्गा स्व. श्री विर बहादुर दरै ज्यूबाट २० रोपनी जग्गा उपलब्ध गराउनु भएको थियो । यस विद्यालयलार्इ व्यवस्थित रूपमा सञ्चालनका लागि तत्कालिन समाजसेवी नर्सिङ्ग बहादुर दरै, विर बहादुर दरै, लिलामान सिंह वस्नेत, भिम बहादुर वस्नेत, पदम वहादुर वस्नेत, नेत्र बहादुर दरै, कासिराम दरै पिताम्वर हड्खले लगायतको संयुक्त प्रयासमा गल्वुवेशी गाउँमा स्व. श्री रेवती रमणले अध्यापन गराउनु भएको थियो साथै रेवती रमण भट्टरार्इ, सोम बहादुर दरै, स्व. श्री चुडामणि लोहनी ज्यू लगाएत अन्य शिक्षा प्रेमीहरूको महत्वपूर्ण योगदान रहेको पार्इन्छ । वि.सं. २०१६ साल पश्चात २०३७ साल सम्म प्राथमिक विद्यालयको रूपमा, वि.सं. २०४९ सालमा निम्न माध्यमिक तहमा, वि.सं. २०५८ मा माध्यमिक तह तथा २०६४ सालदेखि उच्च माध्यमिक (हाल नया संरचना अनुसार माध्यमिक) तहमा सञ्चालन भएको छ ।
मादी र सेती नदीको संगम स्थल व्यास र पराशर ऋषिको तपोभुमी आदिवासी दरै जातिको प्रमुख स्थल दमौली क्षेत्रको अग्रणी विद्यालय श्री जलदेवी उच्च माध्यमिक विद्यालय, वि.सं. २०१६ पुस १६ गते प्राथमिक विद्यालयको रूपमा स्थापना भएको थियो।
तनहुँ जिल्लाको सदरमुकाम दमौली बजारबाट पूर्व तर्फ छाव्दी जोड्ने मोटर मार्ग अन्तर्गत हाल व्यास नगर पालिका, वडा नं. १, भादगाउँ स्थित दरै गाउँको शिरमा र मार्इली डाँडाको फेदीमा रहेको छ । सेवा क्षेत्रको हिसावले यस विद्यालयको पूर्व तर्फ व्यास-१० (साविक घाँसीकुवा गा.वि.स., वडा नं. ५) रानीगाउँ, डिहिगाउँ र दक्षिण पर्व तर्फ छाव्दी खोला र उत्तर तर्फ अकला वन उपभोक्ता समितिद्धारा संरक्षित हरियाली वन जङ्गल यस विद्यालयको सेवा क्षेत्र भित्रका प्रमुख प्राकृतिक आकर्षण हुन् भने धार्मिक र पर्यटकिय दृष्टिले महत्वपूर्ण मानिएको छाव्दी बाराही मन्दिर पनि यस विद्यालयकै सेवा क्षेत्र भित्र पर्दछ।
जलदेवी माध्यमिक विद्यालयको आसपासको सामाजिक अवस्थाको कुरा गर्दा यहाँको प्रमुख जाति दरै तथा अरू जातिहरू विशेष गरि ब्राम्हण, क्षेत्री, नेवार, गुरूङ्ग, मगर, बोटे र दलित समुदायका मानिसहरू पर्दछन्। मिश्रित प्रकारको समुदायको बसोबास स्थल भएता पनि बहुसंख्यक मानिसहरू हिन्दु धर्म मान्दछन्।यहाँको प्रमुख चाडहरूमा दशै, तिहार, तीज, माघेसंक्रन्ति, शिवरात्री पर्दछन् भने गुरूङ्गले ल्होसार र मुस्लिमले र्इद जस्ता पर्वहरू मनाउदछन्। साथै क्रिश्चियनहरूले क्रिसमस मनाउने गरेको पार्इन्छ ।

0 Comments